काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।
बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।
कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परेका दलका दाबीको बारेमा छलफल गरी निष्कर्षमा पुर्याइने बताए।
‘कुनै दलले संघमा सिट प्राप्त गर्यो भने सकेसम्म अर्को दललाई प्रदेशमा समावेश गरेर सबै मत ट्रान्सफर हुने किसिमले अगाडि बढाउने छलफल गरेका छौं’‚ ‘उनले भने‚ ‘दाबी पनि त्यसैको आधारमा सबैले बढी जितौं भन्ने सबैलाई आकांक्षा छ। दाबी बढी नै हुनसक्छ तर यसलाई हामी व्यावहारिक हिसाबले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउँछौँ।’
कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल शुरु भएको छ। यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँडबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल शुरु भएको हो।
दलहरूको साझा अवधारणा र सिट बाँडफाँडसँगै सार्वजनिक गरिने गृहकार्य भइरहेको मन्त्री कार्कीले जानकारी दिए। जारी छलफल गठबन्धनलाई निर्वाचित गराउनको लागि मात्रै केन्द्रित नभएको उनको भनाइ छ। मुलुकको स्थिरताका लागि आगामी निर्वाचनपछि पनि गठबन्धन जारी रहने विषयमा छलफल भइरहेको कार्कीले स्पष्ट पारे।
बिहीबारको बैठकमा देशभरका १६५ निर्वाचन क्षेत्रका लागि कार्यदल सदस्यहरूले प्रत्यक्षतर्फ कांग्रेसको १ सय, माओवादीको ६०, एकीकृत समाजवादीको ४०, जसपाको ३० तथा जनमोर्चाको दुई सिटमा दाबी गरेका थिए।