दार्चुला – नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि दार्चुलाबाट प्रतिनिधिसभातर्फ ठगुन्नाको नाम सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो । विःस २०७० सालमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा नेपाली कांग्रेसकै बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसपटक पाँच दलित गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले हराउदै दार्चुलामा एमालेको विजय हुने नेता ठगुन्नाले दाबी समेत गरेका छन् ।
दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य, प्रदेश सहइन्चार्ज एबं दार्चुला इन्चार्ज ठगुन्नाले भन्नुभयो, सत्तास्वार्थका लागि बनेको अपबित्र गठबन्धनले देशको हित र विकास गर्न नसक्ने कुरा जनताले बुझिसकेको भन्दै उहाँले मङ्सिर ४ गते हुने निर्वाचनमा देशभर अधिकासं ठाउँमा एमाले उम्मेदवारको विजय सुनिश्चित रहेको दाबी गर्नुभयो ।गृह जिल्ला दार्चुलामा प्रतिनिधिसभामा कम्तिमा पाँच हजार र प्रदेशसभातर्फ क र ख दुबै निर्वाचन क्षेत्रमा कम्तिमा दुईदेखि अढाइ हजार मतान्तरले दुबै क्षेत्रमा एमालेको विजय हुने बताएका छन । राष्टिय सुरक्षा, विकास, समृद्धि र सामाजिक सुरक्षाका लागि जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको उहाँको भनाई छ । एमालेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सकार पार्न मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न सबै जनतालाई उहाँले अपिल समेत गर्नुभयो ।दार्चुलामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुगों लाग्न नसकेको नेताहरुले बताएका छन् ।
केहीदिन भित्र नै गठबन्धनको तर्फबाट पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारको टुंगो लाग्ने नेपाली कांग्रेस जिल्ला दार्चुलाका सभापति ललित सिह बोहराले बताउनु भयो ।