काठमाडौं – तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लसले आगामी अक्टोबरदेखि दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको ओपेक प्लसको बैठकले आगामी महिनादेखि उत्पादनको लक्ष्यमा प्रतिदिन १ लाख ब्यारेल कटौती गर्ने निर्णय गर्दै आवश्यक परेका बेला ओपेक प्लस र गैरओपेक मुलुकको मन्त्रिस्तरीय बैठक बोलाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको कच्चा तेलको भाउलाई स्थिर राख्ने लक्ष्यस्वरुप ओपेक प्लसले उत्पादन घटाउने लक्ष्य लिएको हो । सेप्टेम्बर महिनामा भने अगस्टको तुलनामा प्रतिदिन १ लाख ब्यारेल नै उत्पादन थपिएको थियो । त्यहीं परिमाण अक्टोबरमा कटौती हुने भएको हो ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घट्ने क्रम जारी छ । मंगलबार (१२:४० बजेसम्म) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.६९ डलरमा झरेको छ भने ब्रेन्ट कच्चा तेलको ९१.७५ र मुर्बान तेल प्रतिब्यारेल ९४.४० डलरमा झरेको छ । अघिल्लो दिनको तुलनामा डब्लूटीआई, ब्रेन्ट र मुर्बान तेलको मूल्य क्रमशस् १.४, १.२ र २.६६ प्रतिशतले कम हो । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य साढे ३ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई पनि भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँछ । आयल निगमले सोअनुसार यहाँ मूल्य समायोजन गर्नुपर्दछ । यद्यपि पछिल्लो पटक निगमले आफ्नो पहिलेको घाटा देखाउँदै घट्दा मूल्य नघटाउने तर बढ्दा बढाउने गरेको छ । कच्चा तेलको मूल्य घटेमा यहाँ पनि डिजेल तथा पेट्रोलको भाउ घट्न गइ समग्र महँगी नियन्त्रणमा समेत सघाउ पुग्नेछ । कच्चा तेलको मूल्य घट्नु नेपालको समग्र अर्थव्यवस्थाका लागि फाइदा हुनु हो ।