काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबिच सिट बाँडफाँटको विषयमा चाँडै टुङ्गो लाग्ने बताएका छन् । उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार साँझसम्म त्यसबारे टुङ्गो लाग्न सक्ने बताएका हुन् ।
बिहीबार बिहान वाग्मती प्रदेशका काँग्रेसका जिल्ला सभापतिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सिटको बाँडफाँट गर्दा सबै दललाई न्याय हुने कुरामा जोड दिने बताए ।
भेटमा प्रधानमन्त्री देउवाले बिहीबार साँझसम्म सिट बाँडफाँटको टुङ्गो लाग्न सक्ने बताएको दोलखाका जिल्ला सभापति बर्मा लामाले बताए ।
‘हामीले प्रदेश क्षेत्रका जिल्लाको विषयमा कुरा राख्यौँ । उहाँले सिट बाँडफाँट गर्दा ती विषयलाई सम्बोधन गर्ने प्रयास गर्छु भन्नुभएको छ,’लामाले ई कान्तिपुरसँग भने, ‘सिट बाँडफाँट चाँडोभन्दा चाँडो टुङ्ग्याउने गरी छलफल भइरहेको उहाँको भनाइ छ ।’
सत्ता गठबन्धनका पाँच दल एक महिनादेखि सिट बाँडफाँटबारे छलफलमा छन् । तर त्यसबारे सहमति हुन सकेको छैन ।