काठमाडौं – सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौंमा ४ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका–७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् । उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यस्तै मोरङको रंगेली नगरपालिका–१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा मृत अवस्थामा फेला परेकी छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला पनि मृत अवस्थामा फेला परेकी छिन्।
यता, काठमाडौंको नागार्जुन नगरपालिका–३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।