काठमाण्डाै –बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बन्नुभयो । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नुभएको छ ।
चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताउनुभएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनुभएको थियो ।
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन् । एलिजाबेथ द्वितीयाको लामो शासन कालमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र नागरिकप्रति जीवन अर्पण गर्ने प्रतिबद्धता झल्किएको विश्लेषकहरु बताउँछन् ।
शासनमा बेलायतको प्रभाव कम हुँदै गएको, समाज बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उहाँ धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल हुनुभयो । अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न हासिल गरेको सफलता अझ उल्लेखनीय छ । त्यसमाथि एजिलाबेथ जन्मेको बेला उहाँको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । उहाँ जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात ड्युक अफ योर्क अल्बर्ट र पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुहुन्छ । उहाँको शिक्षादिक्षा घरमै भएको थियो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता राख्नुभयो र संवैधानिक इतिहासको विस्तृत अध्ययन गर्नुभएको थियो।