काठमाडौं – लगातारको गिरावटपछि आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । नेप्से १.११ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा ९२ करोड २५ लाख ७४ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।
आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो। आज बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय ३६ रूपैयाँ पुगेको छ ।
यस दिन ८.५५ नेपाल बैंक डिबेञ्चर २०८७ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ९.५९ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ २० पैसामा झरेको छ ।