डडेल्धुरा – ०७४ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भइन् । कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी उनलाई तत्कालिन बाम गठबन्धनबाट एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरे। एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भएका थिए भने आरजु राणा देउवाले २२ हजार ३२२ मत पाएकी थिइन्। ०७४ सालमा पराजित भए पनि ०७९ सालको निर्वाचन सोही क्षेत्रमा लड्न राणाले ५ वर्षसम्म धनगढीलाई केन्द्र बनाएर काम गरिन्। अघिल्लो सातासम्म पनि उनको दाबी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै थियो। उनी क्षेत्रीय, जिल्ला र प्रदेश समितिबाट सर्वसम्मत रुपमा सिफारिस पनि भइन्। तर उनको नाम नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले पनि समानुपातिकतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको थियो।
सोही समयदेखि राणाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ छोड्नसक्ने चर्चा सुरु भएको हो। अहिले भने राणा समानुपातिक पद्धतिमा उम्मेदवार बन्ने पक्का जस्तै भएको छ। उनको काँग्रेसले बुझाएको बन्द सूचीमा नाम अटाएको छ। त्योसंगै नेपाली काँग्रेसमा कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार खोजी सुरु भएको छ ।
‘निर्वाचन आयोगमा बन्दसूची बुझाउने दिन ३ असोजमा एकाएक आरजु समानुपातिकमा उम्मेदवार बनेको समाचार आएपछि सुरुमा त हामीले विश्वास नै गरेका थिएनौं,’ काँग्रेस कैलालीका एक नेताले भने, ‘स्वास्थ्य प्रतिकुलताका कारण उहाँ प्रत्यक्ष चुनाव नलड्ने पक्का भएपछि अहिले बलियो उम्मेदवारको खोजी भइरहेको छ।’ उनका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मुख्य तीन जना दाबेदार छन्। पूर्वजिल्ला सभापति तथा अहिलेका प्रदेश महामन्त्री नरनारायण शाह, अघिल्ले निर्वाचन कैलाली ४ बाट लडेका सुनिलकुरमा भण्डारी र आरजुकै स्वकीय तथा महाधिवेशन प्रतिनिधि प्रकाश देउवाको नाम चर्चामा छ। देउवाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा टिकट नै पाइसकेको भन्दै बुधबारदेखि त सामाजिक सञ्जालमा बधाइ दिन थालिएको छ। त्यसबाहेक काँग्रेसका युवा नेता क्षितिज भण्डारीले पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्दै घोषणापत्र नै सार्वजनिक गरिसकेका छन्। धनगढीका पूर्व मेयर नृपबहादुर वड र नेता कृष्णबहादुर महरा पनि सम्भावित उम्मेदवार हुन् ।
पूर्वमन्त्री पुष्करनाथ ओझा पनि टिकटका आकांक्षी हुन्। तर उनलाई ०७४ को चुनावमा आरजुलाई असहयोग गरेको भन्दै काँग्रेसले पार्टीबाट निष्काशन गरेको छ। आरजु समानुपातिकमा बसेपछि कारबाही फुकुवा गरेर ओझालाई उम्मेदवार बनाउनुपर्ने कतिपयको मत छ। ओझा स्वयं पनि कांग्रेसबाट उम्मेदवार हुन चाहन्छन् । तर उनकै कारण आरजु प्रत्यक्ष चुनाव नलड्ने अवस्था आएकाले उनले टिकट पाउने सम्भावना निकै कम देखिएको काँग्रेस कैलालीका नेताहरु बताउँछन्। किनकी कैलाली ५ मा डोटीबाट झरेकाहरुको बाहुल्य छ भने थारु समुदाय निर्णायक हुन्। एमालेले कैलाली ५ मा फेरि नारदमुनि रानालाई उठाउने लगभग तय छ।
1 Comment
अधिक पैसा पाने के लिए रोबोट को लॉन्च करने का यह सबसे अच्छा समय है । https://go.obermatsa.com/0j35