काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा २४ जना बिरुद मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला सुर्खेत, साविकको घुमखहरे गाविसका तत्कालीन गाविस सचिब खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गुर्भाकोट नगरपालिका वडा नम्बर १० स्थित लामिताले मोटर सिंचाई आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लगायतले मोटर सिंचाईका लागि आएको रकम हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको हो । उनीहरूले भुटा बिल भर्पाई बनाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनले मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूले राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको १२ लाख ३७ हजार ९६२ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । अख्तियारले हिनामिनाको दोब्बर रकम बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
यस्तै भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिमबहादुर खत्री र नायब सुब्बा रुद्रसेन साहुसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूले अपुताली जग्गामा मिलोमतो गरी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ ।
यस्तै डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार प्रवक्ता भण्डारीका अनुसार सिम्ता गाउँपालिका वडा नम्बर ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल बनाएको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
यस्तै शुक्रबारै अख्तियारले बाँके जिल्ला, कोहलपुर नगरपालिका– ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दान दायर गरेको छ । अख्तियारका अनुसार भ्युटावर निर्माणका लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६०९ खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको
खुलेको छ ।
अख्तियारले उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया रानाविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै अख्तियारले शुक्रबारै सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ । उनले घाँस विकास कार्यक्रमको पेश्की रकम लिई सो रकम हिनामिना गरेको दाबी गरेको छ ।
अख्तियारले शुक्रबारै कैलालीको श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मुद्दा दायर गरेको छ ।