काठमाडौं – सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
गोलाप्रथाबाट बाँडफाँट भएको सेयरमा लक्की नम्बर ४ रहेको छ । ४ नम्बरलाई नै आधार बनाएर बाँडफाँट गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ।
सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्दथे । सिडिएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले एक अर्ब ७२ करोड ४४ लाख ३८ हजार रूपैयाँ बराबरको एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन दिएका थिए।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ५ हजार ८ सय जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हात खाली भएको छ ।