डडेल्धुरा – निर्वाचनको २/३ महिना अगाडिसम्म एमाले नेताहरु प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको किल्ला भत्काउने उद्घोष गर्छन् । सोही उद्घोषअनुसार डडेल्धुरामा देउवाविरुद्ध ०७४ सालको निर्माचनमा बाम गठबन्धन भयो । उक्त गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतायो । बाम गठबन्धनको नेतृत्व गरेको दल नेकपा एमालले भने देउवाविरुद्ध उम्मेदवार नै खडा गरेन । ०७४ सालको निर्वाचनमा पनि खगराजविरुद्ध देउवाको सहज जित भयो । देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत ल्याए ।
यसपटकको निर्वाचनमा माओवादीको गठबन्धन एमाले नभई काँग्रेससंग छ । त्यसैले देउवाविरुद्ध एमाले उम्मेदवार हुन्छ भन्ने धेरैको आकलन थियो । सोहीअनुसार एमालेका नेता तथा राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका चक्रप्रसाद स्नेहीले उम्मेदवारी दर्ता गरे । तर स्नेहीको उमेदवारी फिर्ताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार सो पार्टीका उमेदवार स्नेहीको नाम फिर्ता लिन एमालेका अध्यक्ष ओलीले नै निवेदन पेस गरेका थिए । ओलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेश गरेसंगै देउवाको चुनाव क्षेत्रमा यसपटक पनि एमालेले हाप्यो ।
०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै भाषण गरेका एमाले नेता–कार्यकर्ता भने लगातार दुईपटक उम्मेदवारविहीन भएका छन्। कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने भन्दै एमालले उम्मेदवार फिर्ता गरेको थियो । तर बीपी काँग्रेसले भने प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमाले नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि एमाले र बीपी काँग्रेसको तालमेल भंग भइसकेको छ । शुक्रबार बसेको एमाले डडेल्धुराको पूर्ण बैठकले बीपी काँग्रेससंग चुनावी तालमेल तोड्ने निर्णय गरेको हो । ‘प्रतिनिधिसभामा बीपी काँग्रेसका कर्ण मल्ल र प्रदेशसभा १ मा एमालेका पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै उम्मेदवार गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी काँग्रेसबीच सहमति भएको थियो,’ एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकासबहादुर साउद र सचिव गजेन्द्र शाहीले भने, ‘तर बीपी काँग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसंग तालमेल गरेपछि सहमति तोड्न बाध्य भएका हौं ।’
अध्यक्ष ओलीको निवेदनमा एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता भइसकेको छ भने बीपी काँग्रेससंगको तालमेल पनि भंग भइसकेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभामा एमालले कसलाई सहयोग गर्नेबारे चर्चा हुन थालेको छ । काँग्रेस सभापति देउवाको चुनाव क्षेत्रमा एमालेले उम्मेदवारी दिन नचाहने उदारता देखाएकोमा एमालेकै कतिपय नेताहरु आश्चर्यमा परेका छन् । ‘देउवाको किल्ला तोड्ने भन्दै भाषण गर्ने तर देउवाविरुद्ध उम्मेदवारी नदिने एमालेको नीति बुझ्न सकिरहेका छैनौं,’ एमाले डडेल्धुराकै एक नेताले भने, ‘देउवाविरुद्ध लगातार दुई निर्वाचनमा उम्मेदवार नै नउठाउनुको अर्थ एमालेले मौन समर्थन जस्तो देखिन थालेको छ ।’ एमाले डडेल्धुराका अध्यक्ष शाहीका अनुसार प्रतिनिधिसभामा कसलाई समर्थन गर्नेबारे छलफल जारी रहेको बताए । ‘हामीले जिल्लाको सम्पूर्ण बस्तुस्थिती लेखेर केन्द्र पठाएका छौं,’ उनले भने, ‘केन्द्रले गरेको निर्णयअनुसार जिल्लामा समर्थन हुन्छ ।’
४ मंसिरमा हुने निर्वाचनका लागि डडेल्धुरा जिल्लामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासंगै काँग्रेस बीपीका कर्ण मल्ल (देउवाका पूर्वस्वकीय), स्वतन्त्र सागर ढकालसहित ८ जना उम्मेदवार रहेका छन् ।