काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजदेखि निष्कासन गरेको आईपीओको बाँडफाँड यही शुक्रबार हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आईपीओको बाँडफाँड शुक्रबार हुने तय भएको जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।