महेन्द्रनगर – देशभरचुनावी माहोल छ ।विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न अनुमति दिएसँगै राजनीतिक दलले आफ्ना चुनावी सभा गर्न थालेका छन्।
शीर्ष राजनीतिक दलहरुले सुदूरपश्चिमबाट चुनावी सभा थालेका छन्। शीर्ष नेताको दौड पनि सुदूरपश्चिममै देखिन्छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बुधबारदेखि सुदूरपश्चिम आइसकेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानका लागि अहिले सुदूरपश्चिममै छन्। देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा व्यस्त छन् भने ओली आफ्नो चुनावी अभियान दार्चुलाबाट सुरु गर्न हेलिकप्टरमार्फत गएका छन् । ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने समेत स्रोतले बताएको छ ।
कात्तिक २० गतेसम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी रहेको बताइएको छ ।
एकीकृत समाजवादीले अछाममा चुनावी सभाको आयोजना गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ ।