काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् ।
कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले भाषण गरिरहेका बेला भिडबाट भीम रावलको नाम उच्चारण भएको थियो । रावलको नाम सुनेपछि आक्रोशित बनेका ओलीले अब उनको पालो सकिएको बताएका थिए ।
‘भीम रावलको तपाईंलाई किन चिन्ता रु ०४८ सालदेखि एकछिन मुख खाली छैन । बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता रु अरूलाई पालो दिनुपर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल रु थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ ओलीले भनेका थिए ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत रावलले ओलीको अभिव्यक्तिलाई लिएर पाँचवटा प्रश्न गरेका छन् । साथै रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन् ।
भीम रावलले गरेका पााँच प्रश्न :
१) मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ । कहिल्यै “मुख खाली छैन” र फेरि पनि “खान”को लागि मुख किन बाउनुभएको त ?
२) म ६७ वर्ष लागेकालाई “बुढो” भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरूलाई उमेदवारका लागि किन सहमति दिनुभयो ?
३) हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?
४) ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुनेगरी बोल्नुभएको रहेछ । स्मरण होस् अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राह्यमण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नबनाउने त ?
५) पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।