धनगढी- जिल्ला निर्वाचन कार्यालय, कैलालीले जिल्लामा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मत बदर हुन नदिन कार्यालयले स्थानीय तहमार्फत मतदाता शिक्षा कार्यक्रम अघि बढाएको कार्यालयले जनाएको छ । यसैक्रममा शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकास्थित सुख्खडमा नमुना मतदान गरिएको थियो । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । प्रदेश निर्वाचन कार्यालय, धनगढीको आयोजनामा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहेका स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए । नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए । उनले निर्वाचनमा मतदान गर्ने तरिकालगायतका विषयमा प्रकाश पारेका थिए ।
यसअघि, कैलाली ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ ।
शुक्रबारबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एक सय २६ महिला स्वयम्सेवी परिचालन गरिएको उनले बताए ।