काठमाडौँ : आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । हिजोको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा झरेको छ । नेप्से ०.१३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३८४.२१ विन्दुमा झरेको छ ।
कूल २२६ वटा कम्पनीको २७ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ९ वटा उपसमूह घटेको छ ।
त्यसैगरी, मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ५७ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.२२ प्रतिशतले बढेर एक हजार ३ सय ७९ रूपैयाँ ९० पैसा पुगेको छ ।
यस दिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ५.७७ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ५० पैसामा झरेको छ ।