राम धामी
डडेल्धुरा – सत्तारुढ गठबन्धनप्रति असन्तुष्टी जाहेरगर्दै नेपाली काँग्रेसका पुराना नेता कार्यकर्ताहरु नेपाली काँग्रेस (विपी) मा आवद्ध हुन थालेका छन ।
मंगलबार नेपाली काँग्रेस नवदुर्गा गाउँसमितिका उपसभापति खडक बुढाऐरले नेपाली काँग्रेस (विपी) प्रवेश गरेका छन । उनले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेस सुदृढ हुँदाहुँदै पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा होमिएकाले असन्तुष्टी ब्यक्तगर्दै नेपाली काँग्रेस (विपी) मा आवद्ध भएको बताए ।
नेपाली काँग्रेस आलिताल गाउँसमितिका पुर्व सभापति रामबहादुर कुँवरले केहि दिन पहिले नेपाली काँग्रेस परित्याग गरेर नेपाली काँग्रेस (विपी) मा आवद्ध भएका थिए । आलिताल गाँउपालिकाका तीन वडाका वडा सभापतिसहित नेता कार्यकर्ताहरु नेपाली काँग्रेस (विपी) मा आवद्ध भएको कुँवरले बताए ।
सशस्त्र युद्धका बेला नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई खोजीखोजी प्रताडना दिने काम माओवादीबाट भएको कुरालाई विर्षेर नेतृत्वले माओवादी केन्द्रसँग गठबन्धनगर्दा पुराना नेता कार्यकर्ताहरुमा असन्तुष्टी बढ्दै गएको २०३६ सालदेखि नेपाली काँग्रेसको राजनीतिगर्दै आएका परशुराम नगरपालिका–७ मलासका पाका कार्यकर्ता बुद्धी धामीले बताए । गठबन्धनप्रति असन्तुष्ट भएर आफुले हालै नेपाली काँग्रेस परित्याग गरेको उनले जानकारी दिए ।
गठबन्धनका कारण नेपाली काँग्रेसभित्र असन्तुष्टी चुलिन थालेपछि हालै गठन गरिएको नेपाली काँग्रेस (विपी)लाई संगठन निर्माण गर्न सहज भएको छ । ‘डडेल्धुरामा हालै गठन गरिएको पार्टीको संगठन विस्तारकै क्रममा निर्वाचनको सामना गर्नु परेको छ,’ नेपाली काँग्रेस (विपी) डडेल्धुराका सचिव सन्तोष देउवाले भने,‘काँग्रेसभित्रको असन्तुष्टीका कारण विपी काँग्रेसप्रति स्थानीय नेता कार्यकर्ताहरुको आकर्षण बढेको छ ।
उनले हरेक दिन नेपाली काँग्रेस (विपी) मा आवद्ध हुनेहरुको संख्या बढ्दै गएको बताए । नेपाली काँग्रेस (विपी)ले मंगलबार प्रवेश गरेका नेपाली काँग्रेस नवदुर्गा गाँउसमितिका उपसभापति बुढाऐरलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिको जिम्मेवारी दिइएको जनाएको छ । मंगलबारनै प्रकाश सार्कीलाई नेश्नल युथ कँग्रेसको जिल्ला सचिवको जिम्मेवारी दिइएको नेपाली काँग्रेस (विपी) डडेल्धुराले जनाएको छ ।
यसैगरि गन्यापधुरा गाउँपालिका–३ वडा सभापतिको जिम्मेवारी शेरबहादुर विष्ट र वडा नं. ४ वडा सभापतिको जिम्मेवारी गणेशबहादुर धानुकलाई दिइएको नेपाली काँग्रेस (विपी) डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले बताए ।