डोटी – डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा, धनसरी बोहरा र कितुलछी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ |
भुकम्पको पराकम्पले गर्दा दार्चुलामा पनि धक्का महसुस भएको छ भने त्यहाँका बासिन्दा पनि त्रसित छन् ।
राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् भने जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा ,दार्चुला समेत महसुस भएको थियो ।