बझाङ – नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ। यही कात्तिक २ गतेदेखि २३ गतेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ६ पटक भूकम्पले धक्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो। कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो। सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।
सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रबिन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ। कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मंगलबार राति नै तीनपटक भूकम्प गएको थियो।
नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रबिन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो। त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे।
मंगलबार बिहान दुई बजेर १२ मिनेटमा आएको भूकम्पमा परी डोटीमा ६ जनाले ज्यान गुमाए भने पाँचजना घाइते भए। त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ।