धनगढी- बैतडी कांग्रेसबाट एक दर्जन नेता कार्यकर्ता निकालिएका छन्। नेपाली कांग्रेस बैतडीले १२ जना नेता कार्यकर्तालाई पार्टीको अनुशासन उल्लंघन गरेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको कांग्रेसको अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीले बताए।
उनका अनुसार ६ जनालाई पार्टीको केन्द्रीय कार्यालयले कारबाही गरेको हो भने ६ जनालाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो। पार्टी निर्णयविरुद्ध ‘बागी’उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारी, उनका समर्थक र प्रस्तावकलाई केन्द्रीय कार्यालयले पार्टीबाट निष्कासन गरेको जोशीले बताए।
पाटन नगरसभापति मानबहादुर ऐर, सिगास गाउँ उपसभापति धनबहादुर साउँद, दलित संघ अध्यक्ष रमेश कोली, महिला नेतृ सरस्वती कोली, पाटन नगर सहसचिव कृष्णा पन्त लगायतलाई पार्टीबाट कारबाही गरिएको बताइएको छ। यस्तै, पार्टीका उम्मेदवारविरुद्ध लागेका र पार्टीको विधान विपरीत लागेका केही नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधिएको छ। कति जनालाई स्पष्टीकरण सोधिएको भन्ने विषयमा कांग्रेसले खुलाएको छैन।