अछाम – निर्वाचन आयोगले कैदीबन्दीहरुलाई पनि मतदान गर्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न जिल्ला कारागारका कैदी बन्दीले पहिलो पटक मतदान गर्न पाउने भएका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अछाम कारागारका ७ कैदी बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने जिल्ला कारागार अछामका कार्यालय प्रमुख उष्म बहादुर थापाले जानकारी दिए। हाल जिल्ला कारागार अछाममा ८५ जना कैदी बन्दी रहेका छन् ।
जसमा पुरुष ८०,महिला ४ र आश्रित १ जना रहेका छन् । उनका अनुसार कैदी बन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मताधिकार प्रयोग गर्ने छन् ।कार्यालयमा रहेका कतिपयको मतदाता नामावली घरमा छुटेको पाइएको छ भने नामावली भएका १ जना महिला र ६जना पुरुषले मतदान गर्न पाउने कार्यालय प्रमुख थापाले बताए ।
नामावली घरमा छुटेका कैदी बन्दीलाई कसरी मतदान गर्ने व्यवस्था मिलाउन सकिन्छ भन्ने कुरा निर्वाचन आयोगको निर्देशन अनुसार हुने पनि बताइएको छ ।
कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।
विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका,मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो÷जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा ८५ कैदी बन्दी छन् ।
मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरू अस्थायी मतदाता बन्न पाउने व्यवस्था रहेको छ ।