ललित सामन्त,
दार्चुला – आसन्न मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि दार्चुला जिल्लामा मात्र २हजार जति सुरक्षाकर्मी परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्येक मतदान केन्द्रमा खटाउने तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
चुनावका लागि राष्ट्रिय योजना अनुसार नै पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
चुनावमा सबैभन्दा धेरै म्यादी प्रहरी ८२९जना जनपथ प्रहरी ५ सय जना सशस्त्र प्रहरी २०८ जना तथा नेपाली सेना ३५० तथा अन्य अनुसन्धानगरी झण्डै २ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने सुरक्षा समिति संयोजक एवम प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएका छन् ।
चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनले बताए । विशेषगरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् ।अहिले निर्वाचन आचारसंहिता उल्लंघन भए÷नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी दार्चुलाका मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरूसँग मतपत्र लगायतका सामग्रीहरू लिएर पठाइने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका नौ स्थानीय तह मध्येमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यतया वर्गीकरण गरिएको छ ।अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधि गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ।
दार्चुलामा नेपाल प्रहरीहरू खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइएको छ । जिल्लाको ९ वटै स्थानीय तहको निर्वाचन स्थलमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जिल्लाका ८९ हजार १ सय ५४ जनाले मताधिकार उपयोग गर्दैछन् ।