धनगढी – आसन्न निर्वाचनका लागि गरिएको चुनावीसभाका क्रममा मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न तछाडमछाड नै गरेका छन्।
सर्वसम्मत रूपमा प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुमोदन भएता पनि तीनै दलका शीर्ष नेताहरूले त्यसको श्रेय लिन अग्रसर भएका हुन्। उक्त नक्सालाई तीनै दलका शीर्ष नेताहरूले चुनावी एजेन्डा बनाएका छन्। जुन विषयले विभिन्न दलका शीर्ष नेताको ध्यान तानेको छ। -आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्तागठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्साको प्रसंग जोडतोडले उठाए।
सत्तागठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढंगले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताए।
सोही सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्सा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभई आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताए। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’ले चुच्चे नक्सा सबै दलको सहमतिमा जारी भएको बताए।
यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्दै चुच्चे नक्साको मुद्दा उठाउन कुनै कसर बाकी राखेनन् । ओलीले नक्सा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताए। दार्चुला मात्र होइन अन्य जिल्लामा आयोजित चुनावीसभामा समेत चुच्चे नक्साको ठूला राजनीतिक दलका शीर्ष नेताले चर्चा गर्दै आएका छन्।