दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
नौगाड गाउँपालिका– ६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको हो।
झडपमा परी नौगाड गाउँपालिका– ६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
‘दिउँसो चुनावी प्रचारप्रसारको क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच सामान्य झडप भएको हो,’ उनले भने, ‘ठगुन्नालाई सामान्य चोटपटक लागेको छ भने धामीलाई धनगढी रिफर गरिएको सूचना आएको छ।’एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए।
गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्। घाइतेमध्ये जय सि धामीको टाउकोमा चोट लागेको छ। उनको टाउकोको सिटिस्क्यानका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले बताइन्। चोट सामान्य भए पनि चेकअपका लागि रिफर गरिएको बताइएको छ।
अस्ति कार्तिक २४ गते अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। एमाले प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि झडप भएको थियो।उक्त झडपमा एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका थिए।