दार्चुला – दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ।
नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका थिए।
जिल्लाको गोकुलेश्वर–खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसमा आवद्ध कार्यकर्ताहरुले हिजो (आइतबार) रातिदेखि सडक अवरुद्ध पारेका थिए। उक्त सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धनको टोली र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेको एमाले कायकर्ताको टोलीबीच झडप भएको थियो। सडक सुचारु भएसँगै एमालेको सभामा गएका कलाकार तथा कार्यकर्ताहरु घर फर्किएका छन्।
नौगाड गाउँपालिका– ६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ताबीच हिजो झडप भएको थियो । झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड– ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका वडा नम्बर ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका छन् ।
चुनावी सभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी तथा सर्वसाधारण रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले दार्चुलाले जनाएको छ । झडपमा परी घाइते भएका जयभानसिंह धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीका भाञ्जा हुन् । उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।