निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बर बहादुर बिष्टले जानकारी दिए ।
भारतसंग जोडिएका विभिन्न सिमानाकाहरुमा अहिले विओपी मार्फत निगरानी बढाएको उहाँले बताए । अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको एसपी बिष्टले बताए ।
४४ नंं. गण दार्चुला मातहतमा अहिले ४ वटा बिओपी र १ वटा गुल्म रहेको बताइएको छ । निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाई अपराधिक गतिविधि नियन्त्रण गर्न लागि परेको बताएका छन । जिल्लामा अहिले लाली जोलजिवी दत्तु र दुम्लिङमा विओपी स्थापना भएका छन भने छाङरुमा गूल्म स्थापना गरिएको शसस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ ।