डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधवार गृह जिल्ला आउने भएका छन् । बुधवार डडेल्धुरा आएर उनी गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधवार बिहान गृहजिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि कात्तिक १७ गते गृहजिल्ला पुगेका देउवा ४ दिन बसेका थिए ।
सो क्रममा उनले ७ पालिकाका ७ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ जना उम्मेदवार रहेका छन् । देउवा विक्रम संवत् २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।