काठमाडौं – निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उनीहरुलाई पटक(पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’
प्रवक्ता राईका अनुसार अनुसार कारबाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् ।
काठमाडौं उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।