बैतडी – बैतडीमा प्रदेश सभा तर्फको अन्तिम मतपरिणाम आज साँझ सम्म आउने भएको छ । दुवै क्षेत्रमा एक एक पालिकाको मतगणना मात्रै बाँकी रहेकाले आज साँझ सम्म मत परिणाम आउन अनुमान गरिएको छ ।
प्रदेश सभा (क) मा पुर्चौंडी नगरपालिकाको मतगणना शुरु भइसकेको छ भने अन्य पालिकाको मतगणना सम्पन्न भइसकेको छ ।
जारी मतगणना अनुसार प्रदेश सभा (क)मा एमालेका उम्मेदवार सुरेन्द्र पालको अग्रता कायमै रहेको छ । एमालेका पाल ९ हजार ९१ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ८ हजार १४४ मत सहित पछ्याइरहेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका बिरबहादुर बिष्टले ६ हजार ४५० मत पाएका छन् ।
यस्तै प्रदेश सभा (ख)मा दशरथचन्द नगरपालिकाका तीनओटा वडा र दोगडाकेदार गाउँपालिकाको मात्रै मतगणना हुन बाँकी रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्टले अग्रता कायमै राखेका छन् । अहिले सम्म २६ हजार ८७२ मत गणना हुँदा कांग्रेसका भट्टले १३ हजार (२) मत प्राप्त गरेका छन् । एमालेका लिलाधर भट्टले ११ हजार २७९ मत सहित उनलाई पछ्याइरहेका छन् ।
बैतडीमा आइतबार सम्पन्न भएको निर्वाचनमा ७८ हजार ४१६ मत खसेको थियो ।