भोजराज भाट,
८ मंसिर अर्थात् विहिबार अपरान्ह पौने ३ बजे टीकापुर बजारमा देखिएको विजयी र्याली देख्दा लाग्थ्यो, एउटा भुइफुट्टा समुहले ठूलै विजय हासिल गरेको छ । सयौंका सख्यामा बुनेर ल्याएका मालाहरु एकआपसमा लगाइरहेका थिए । अबिर लगाइरहेका थिए । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु विजयी मुडमा खुशी देखिन्थे नै, त्योभन्दा बढी खुशी सर्वसाधारण थिए । हजारौंको मास थारु गीतमा नाच्दै बजार परिकर्मा गरिरह्यो । सयौंको संख्यामा ट्याक्टर तथा अटो रिक्साहरु लामवद्ध भइ विजयी जुलुशमा सहमागी भइरहे ।
अनौठो त के भने, विजयी जुलुशमा आएका ७० प्रतिशत जति महिला थिए । उनीहरुका टाउकामा फरकफरक तवरमा ढकिया सजिएका थिए । ढकियाप्रति उनीहरुको मोह अर्कै थियो । मानौ कि, यो उनीहरुको साझा निशान हो । यस्तो लाग्थ्यो, टीकापुर पुरै जागेको छ । पञ्चेबाजा पनि यही घन्किएको छ । सकियाँ नाँचको मादल पनि यही घन्किएको छ । नाच्नेहरुमा कुनै लज्जावोध थिएन, बरु उनीहरु गौरवका साथ उफ्रीउफ्री उल्लास मनाइरहेका थिए । ओहो, यस्तो शक्तिलाई सहीतवरमा प्रयोग गरियो भने साच्चै टीकापुरले नयाँ मुहार फेर्छजस्तो अनुभूति जो कसैलाई भान हुन्थ्यो ।
हिजोका दिनमा यही समुदायले मलवारको तीन ठूला कुला रानी, जमरा र कुलरिया खनेर कृषि क्रान्ति गरेको थियो । पछि स्वर्गीय खड्गबहादुरले टीकापुर बनाउने अभियानमा यही वर्गलाई राम्रै सदुपयोग गरे । पञ्चायतकालदेखि यता यही वर्ग केवल भोट बैंकको रुपमा प्रयोग हुँदै आयो । ०४८ सालमा नेपाली कांग्रेसले प्रयोग गर्यो । ०५१ सालमा गरीबको पार्टी भनेर एमालेले यही वर्ग तथा समुदायको सेन्टिमेण्ट क्यास गर्यो । ०५६ सालमा फेरि पनि यही वर्गले नेपाली कांग्रेसलाई साथ दियो ।
आज टीकापुरमै देखिएको समूह हो, ०६४ को जनलहरमा पुरै माओवादीमय बनेको थियो । ०७० सालको चुनावमा जनक चौधरीले चुनाव जित्छन् भनेर कसैले विश्वासै गरेका थिएनन्, उनलाई पनि यही वर्गले नै संविधानसभामा पुर्याएको हो । यतिसम्म कि, एकदिन पनि चुनावी प्रचारमा नआएका रेशम चौधरीलाई ०७४ को चुनावमा प्रतिनिधिसभा सदस्य बनायो । भलै रेशम सार्वजनिक हुनासाथ जेल चलान भए, अझै पनि जेलभित्रै छन् ।
गएको वैशाखमा सम्पन्न स्थानीय चुनावमा पूर्वी कैलालीका चार पालिकामा नयाँ लहर ल्याउनमा पनि यही वर्गकै साथ र समर्थन रह्यो । अहिले यही वर्गकै आडमा कैलाली क्षेत्र नम्बर १ र ३ मा पुरै क्लिन स्वीप पारेको छ नागरिक उन्मुक्ति पार्टीले । कैलाली २ को ख मा प्रदेशसभा जितिसकेको छ भने २ को प्रतिनिधिसभा पनि जित्दैछ ।
वास्तवमा यो वर्गले धेरै ठूलो अपेक्षा पनि गरेको छैन । नागरिक उन्मुक्ति पार्टीले नारा दिएझैं रेशम चौधरीलाई जेलबाट मुक्त गर्ने, थारु पहिचानको मुद्दा स्थापित गर्ने र कैलालीको खुटिया नदी यताको पूर्वी भुभाग, बर्दियाको केही भुभाग समेटेर छुट्टै जिल्ला निर्माण गरी टीकापुरलाई सदरमुकाम बनाउने एजेण्डालाई यो वर्गले भोटमार्फत् समर्थन दियो ।
नागरिक उन्मुक्तिको एजेण्डालाई अनुमोदन गरिदियो । अब पालो भएको छ, जितेका जनप्रतिनिधिको । टीकापुरमा स्थानीय पालिका, प्रदेशका दुबै सिट र प्रतिनिधिसभा सदस्य सिट एउटै पार्टीले जितेको छ । अब यो शक्तिले समृद्ध टीकापुर बनाउने अभियानमा रफ्तार बढाउन आवश्यक छ । अझै पनि किन्तु, परन्तु, नातागोता र व्यक्तिगत लाभमा फस्यो भने यो वर्गले कदापि माफ दिने छैन ।
आज आएका वर्गले यिनीहरुलाई कहिलै साथ दिने छैनन् । किनभने टीकापुरले एकपटक जनक चौधरीलाई जिताएकै हो, त्यसलगत्तै हरायो पनि । हिमाञ्चलराज भट्टराईको हकमा पनि त्यही भएको थियो । अहिलेसम्म टीकापुरमा दोहोरिएर जितेको रेकर्ड छैन । अब पालो यहाँहरुको हो, पूर्वी कैलालीलाई विकासको मोडल देखाउने जिम्मा तपाईहरुको काँधमा आएको छ । हेक्का रहोस्, काठमाडौंका नेवारले अहिले मधेशी समुदायका वालेन साहलाई महानगरको मेयर चुनेका छन् । यहाँ पनि अब त्यस्तै दिन आउनेछ । त्यतिखेर तपाईहरुसँग न जनमत रहनेछ, न त एजेण्डा नै । फेरि पनि छावालाई छुटाउन, श्रीमानको अनुहार बेचेर, छोरोको फोटो देखाएर भोट माग्ने दुकान सदाका लागि बन्द हुनेछ । चेतना भया ।