अघिल्लो चुनावभन्दा यो चुनावमा राप्रपाको प्रत्यक्षतर्फ आसन सङ्ख्या र समानुपातिकतर्फ मत अंक बढेको छ। यो संतोषजनक कुरो हो तर खुशी मानी हाल्नु पर्ने कुरो होइन।
अहिल्यै बहुमत ल्याउने अवस्था नभए पनि राप्रपाले आफ्नो वैचारिक उपस्थिति र देशव्यापी सञ्जाललाई हेर्दा उ कांग्रेस र एमालेपछिको तेस्रो शक्ति बन्नै पर्थ्यो। त्यो स्थानमा पुग्न नसक्नु राप्रपाको लागि लाज मान्नु पर्ने विषय नै हो। तैपनि नहुनु मामाभन्दा आँखा नदेख्ने मामा हुनु नै ठिक भन्ने उखानलाई स्मरण गर्दा राप्रपाको यो प्रदर्शन तै बिशेक नै हो।
राप्रपाले एमालेसंग गठबन्धन नगरेको भए र प्रदेशमा नउठाएको भए यो भन्दा राम्रो प्रगति हुने थियो। गठबन्धनले उसको सैद्धान्तिक निष्ठामा प्रश्न चिन्ह उभ्याएकै छ। एमालेसंग गठबन्धन गरेर जितेका राजेन्द्र लिङ्देन, दीपक बोहरा र धवल शमशेर राणाभन्दा गठबन्धनबिना आफ्नै र पार्टीको प्रयासले जितेका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाहीको विजय राप्रपाको निम्ति साँच्चैको गर्व र प्रेरणाको विषय बनेको छ।
राप्रपा सैद्धान्तिक कोणबाट स्पष्ट भए पनि संगठनात्मक दृष्टिकोणले निकै संकटापन्न स्थितिमा छ। राष्ट्रवादी विचार संसारभरि अग्र स्थानमा भए पनि नेपालमा भने लोपोन्मुख अवस्थामा पुग्नु राप्रपाका नेता-कार्यकर्ताको अल्छिपनाले गर्दा हो।
राप्रपाको यो सानो उपलब्धिले आशाको सञ्चार त गरेको छ तर भर पर्ने स्थिति छैन। त्रिशंकु संसद बनेको बेला सत्ताको बतासले राप्रपालाई पनि छुने नै छ। त्यो बतासबाट जोगिएर केवल संगठन र सैद्धान्तिक प्रशिक्षणमा मात्रै राप्रपाका सांसदहरु लागेभने पार्टीको यात्रा थप बलियो हुने छ। नत्र विगतजस्तै सत्ताको खेलमैं मिसिए भने अर्को चुनावमा राप्रपाले कमल थापाकै नियति भोग्नु पर्ने छ।
१६५ आसनमध्ये ७ आसन मात्र जित्नु त्यति राम्रो प्रगति त होइन तर अनिकालको बेलामा सिद्धान्तको बीउ जोगाउन यो सात अंकले पनि ठूलो काम गर्न सक्छ।
सत्य युगमा प्रलय भएर सम्पूर्ण मानव जगत समाप्त हुँदा डुङ्गा चढेर बाँचेका सात जना ऋषिले पृथ्वीमा नयाँ सृष्टिको आरम्भ गरेका थिए भनिन्छ। यी सात जना सांसदले पनि गणतन्त्रको प्रलयले मृतप्रायस् भएको राप्रपामा नयाँ प्राणको सञ्चार गरून् भन्ने हामी सबैको चाहना, आशा र अपेक्षा हो।
यो पटकको संसदीय चुनावमा जितेका सात जना सांसदको चरित्र, सैद्धान्तिक व्यवहार र संसदमा खेल्ने उनीहरुको भूमिकामैं राप्रपाको भविष्य निर्भर रहने छ।
चेतना भया …