काठमाडौँ – अभिनेत्री रेखा थापा पहिलो पटक सार्वजनिक कार्यक्रम र मिडियामा पति बलराम शाहीसँगै देखिइन् । अभिनेता सलोन बस्नेत दम्पतीलाई वैवाहिक जीवनको बधाई दिन रेखा र बलराम त्यहाँ पुगेका थिए । सोल्टीमोडस्थित हायात प्लेसमा बुधबार बेलुका आयोजित पार्टीमा सेलिब्रिटीको उपस्थिति रह्यो ।
त्यहाँबाट निस्कँदै गर्दा रेखा र बलराम मिडियासामु पहिलो पटक खुले । क्याजुअल गफगाफदेखि बेबी प्लानसम्मका कुरा त्यहाँ चले । बलराम मिडियामा खुल्न केही हच्किए पनि उनी रेखाको प्रशंसा गर्न चुकेनन् ।
रेखालाई कसरी बुझ्नुहुन्छ भन्ने जिज्ञासामा बलरामको जवाफ थियो, ‘फिल्मी, पर्फेक्ट वाइफ र देवी ।’ यसरी व्याख्या गर्दा रेखा खुसी देखिइन् । ‘विवाह स्वर्गमा बनेको हुन्छ भन्छन् । मेरो कल्पनामा यस्तै कपाल र रङ भएकी पत्नी थियो, त्यही पाएँ,’ उनले भने ।
बेबी प्लानबारे सोधिएको प्रश्नमा बलरामले आफूलाई बुवा बन्ने इच्छा भएको समेत बताए । रेखाले पनि वैवाहिक जीवन, फिल्म र राजनीतिबारे कुरा गरिन् । ‘उहाँलाई सुरुमै भेटेको भए हिरो बनाउँथे होला । मैले कल्पना गरेजस्तो हुनुहुन्छ । आध्यात्मिक, महिला र कामलाई सम्मान गर्ने मान्छे । देश र विश्वलाई बुझ्ने मान्छे मैले पाएँ,’ रेखाले भनिन् ।
विवाहपछि आफ्नो स्वभावमा केही परिवर्तन आएको रेखाले बताइन् । ‘अहिले रिस धेरै कन्ट्रोल भएको छ । धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भनिन्, ‘एउटा मान्छेको मायाले फरक पार्दछ जिन्दगीमा ।’
राजनीति र फिल्मलाई सँगै अघि बढाउने योजना रहेको रेखाले बताइन् । उनले भनिन्,‘पहिलो प्राथमिकता राजनीति र समाजसेवा नै हो ।’
रेखा र बलरामले गत वर्ष अदालती विवाह गरेका थिए । उनीहरूको विवाहको खबर गत फागुन २ गते सार्वजनिक भएको थियो ।