वि.स. २०६४ को पहिलो संविधान सभाको निर्वाचनबाट चौथो शक्तिको रूपमा उदाएको मधेश केन्द्रीत दल अहिले सबैले बुझ्ने गरि ओरालो लागेको छ। उपेन्द्र यादवको ‘फोरम’ बाट शुरू भएर ‘जसपा’ सम्मको र महन्थ ठाकुरको ‘तमलोपा’ बाट ‘लोसपा’ सम्मको यात्राको परिणाम अत्यन्त प्रभावहीन अवस्थामा आइपुगेको छ । फोरमको पहिलो दल बिखण्डन पछि उपेन्द्र यादवले ‘देशी विदेशी शक्ति’ तथा ‘सत्ता लोलुपता’ लाई दोष दिएका थिए। यसपछि उनले ‘वामपंथी विचार’ का तथा ‘जातिय’ सहयोगीहरूलाई भरपर्दो मानेर संगठनात्मक सुनिश्चितताको बाटो रोजे। यसरी वामपंथी बिचारकाहरूलाई जम्मा गर्दै लाने यात्रामा मोरङका राम प्रसाद साह, सुनसरीका जफर जमाली, सप्तरीका जीतेन्द्र देव, सिरहाका रामरिझन यादव, कृष्ण बहादुर यादव, महादेव साह र चन्द्रेश्वर यादव, धनषा-महोत्तरीका रविन्द्र मिस्र, राम कुमार शर्मा, रत्नेश्वरलाल गोईत, सीतानन्दन राय, बाराका रामसहाय यादव, रामबाबु यादव देखि बाँकेका दिनेश यादव सम्मलाई प्राथमिकता दिईयो। अझ पछिल्लो समयमा डा. बाबुराम भट्टराईको दुर्दशा मैले उल्लेख गर्न चाहिन ।
साथै, संगठनलाई पुरै आफ्नो पकडमा राख्न ‘जातीयता’मा जोड दिईयो। पार्टीको संगठनका केन्द्रीय तथा जिल्ला तहसम्ममा बिरादरीको पदस्थापनको काम भयो । जसपाको हालको केन्द्रीय समितिको संरचना हेर्दा र यस पटकको निर्वाचनमा संघ तथा प्रदेशको टिकट वितरणको तरिका हेर्दा नै यो स्पष्ट हुनजान्छ। तर, उपेन्द्र यादवको यो सोच लामो समयसम्म काम लागेन। उनले पार्टी संगठनमा प्राथमिकता दिएका वामपंथी पृष्ठभूमिका माथी उल्लेखित लगभग सबैले केही वर्ष भित्रै पार्टी परित्याग गरेर उपेन्द्रलाई छोडे। उनिसंग बस्न सकेनन्
यसरी नै जातिय आधारमा उपेन्द्रले रूचाएका अधिकांश नेताहरू रामरिझन यादव, उमेश यादव, बीपी यादव, कृष्ण बहादुर यादव, चन्द्रेश्वर यादव, अनिरूद्ध यादव, रत्नेश्वरलाल गोईत, भरत बिमल यादव, अमर यादव, बीरेन्द्र यादव, पूर्व मंत्री रामेश्वर राय यादव, रामचन्द्र राय यादव, महेन्द्र यादव (हाल माओवादीको टिकटबाट विजयी) हरू पनि उपेन्द्रसंग टिक्न सकेनन्। जो संगै छन्-तिनको साथ दिने अवधि निश्चित छैन। रेणु यादव र अहिले पर्साबाट निर्वाचित प्रदीप यादव यस अघि नै केपी ओलीसंग मिलेर पार्टी बिभाजन गर्न लागिपरेका थिए। यही एकमात्र कारणले उपेन्द्र कुनै तयारी बेगर महन्थ ठाकुरको ‘राजपा’संग एकिकरण गरेका थिए। हाल उपेन्द्रका धेरै नजिक मानिएका पूर्वमन्त्री मृगेन्द्र सिंह यादव पहिलो पार्टी बिभाजनमा नै उपेन्द्रलाई छोडेका थिए। पछिल्लो समयमा उपेन्द्रले यादव-मुसलमानको समिकरणमा जोड दिएका थिए। मुसलमानलाई पनि उपेन्द्रले विश्वास गरेनन्। बाँकेका मो. इस्तियाक राइ यिनको बिश्वासको घेरामा पर्दैनन्। पर्साका धेरै संभावना भएका नेता शशी कपूर मियांलाई धेरै अघि छेऊ किनारा लगाए। चर्चित मुसलमान नेतृ करिमा बेगम अलग भईन। मधेसका मुख्यमंत्री रहदै उपेन्द्रले लालबाबु राउतलाई हटाउन चाहेको जगजाहेर छ। शायद चुनाव नजिकै नभएको भए यिनी बडो अपमानजनक रूपमा फालिन्थे होला। मुसलमानबाट अहिले उनि सिरहाका मो.खालिद सिद्दीकीलाई राष्ट्रिय सभामा लगेका छन्। यी सिद्दीकी पनि उपेन्द्रसंग सचेत छन्। यसअघि नै फोरमको बिभाजन हुदाँ यिनी ‘गणतान्त्रिक फोरम’मा गैसकेका हुन्। रौतहटका मो. जब्बार, डा. अब्दूल सलाम, मो. समशाद, मोरंगका सलीम अंसारी, मो. तवरेज कोही पनि यिनीसंग टिक्न सकेन वा बस्न चाहेनन्।
यी सब दृष्टान्तले जनाउँछ कि उपेन्द्र न वामपंथी बिचारबाट, न त जातियताको आधारबाट नै संगठनलाई हाँकेका छन्-यो दुबै कुरा उपेन्द्रका लागि अवसरमा फायदा उठाउने कुरा मात्र हुन्। संगठन संचालनको उनको पद्दति पुरै अवसरवादीतामा निहीत छ।
यसरी नै महन्थ ठाकुर र राजेन्द्र महत्तोहरूलाई पनि यादव बिरोधी समिकरणका तथा बाहुन-बैश्य समुदायका पक्षपाति भनिन्छ। यस परिदृश्यबाट बिचार्दा पनि राजेन्द्र जीका अत्यन्त नजिकका पार्टी प्रवक्ता रहेका मनिष सुमन, प्रादेशिक सरकारमा मंत्री रहेका नवल किशोर साह, जनकपुरका मेयर रहेका लाल किशोर साह, सिरहाका राजकुमार गुप्ताहरू साथ रहेनन्। पर्साका सिपू तिवारी, धनुषाका बृषेशचन्द्र ललन, महोत्तरीका डा. बिजय सिंह र रामकुमार शर्मा, बाँकेका पशुपति दयाल मिस्र, तमलोपाका संस्थापक नेता एवं पूर्व मंत्री हृदयेश त्रिपाठी जस्ता ब्रम्हण समाजबाट अनन्य सहयोगीहरू समेत महन्थ ठाकुरसंग रहन सकेनन्, अलग्गिए। यस्ता उदाहरणहरू लामो छ।
मधेसी पार्टीहरू ओरालो लाग्नुको मूल कारण के हो त? यसको बस्तुनिष्ठ खोजि हुनु जरूरी छ। वास्तवमा आजको मधेशका पार्टी तथा नेताहरूको मुल्यांकनको लागि एक बस्तुनिष्ठ आधारको निर्धारण गर्नु आवश्यक छ । अन्यथा निरन्तरको सत्ता लोलुपता, पलायनवादीता, सैद्धान्तिक बैचारिक विचलन, जातीय वा अन्य अहंकार, परभक्ति, शत्रुमिलाप जस्ता असंख्य दुर्गुण तथा क्रांतिविरोधी चरित्रको बावजूदपनि नेता यदि आफ्नो जातपातका हुन् भने ती मसिहा नै कहलाउने प्रवृति मधेसी समुदायमा छ । नेताको हजारौं गल्ती, सम्झौता परस्तता, आत्मसमर्पणवादका बावजूदपनि यदि तिनी दोषी सावित भएनन् भने मधेस आन्दोलन सधैं लाञ्छित भै नै रहनेछ । अब हामीले यथार्थको कसीमा पार्टीको, नेताको मूल्यांकन गर्नैपर्ने भएको छ। हामीलाई थाहा छ, आजको मधेशमा व्याप्त निराशा, असन्तोष र क्षोभको कारण नै मधेसी पार्टीमा विद्यमान असक्षमता र पलायनवादीता नै हो । मधेसका बहुतायत नेताहरूमा श्रीलंकाका सम्झौतापरस्त-सत्तामुखी तमिल नेता अमृतालिंगमको दोषी चरित्र हावी छ। तसर्थ, यसको विरुद्ध अब एक नयां बाटो खोज्नु आवश्यक छ। यस विषयमा मधेसमा खुला छलफल हुनु जरूरी छ।
हालैको संसदीय निर्वाचनमा यथास्थितिवादी मधेसी दलहरूको पराजयपछि फेरी केही मधेसी मानव अधिकारकर्मी, मधेसी नागरिक समाज र मधेसी प्रेसका केही मित्रहरू फगतः भावनावश पुनः यिनै पार्टीहरू एकतावद्ध हुनुपर्ने भन्न थालेका छन्। यिनीहरू हिजो पनि एकहदसम्म एकताबद्ध थिए नै तर त्यस एकतालाई जोगाउन सकेनन्। एकताबद्ध रहेर गत निर्वाचनहरूमा राम्रो स्थान बनाएका पनि कायम राख्न सकेनन्। अब फेरी उही सोच, उही चिन्तनको निरन्तरता एवं मानसिकताबाट यदि यिनको पुनरागमन नै भयो भने त्यसबाट के हासिल हुन्छ र ?