काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराउँदै आगामी रणनीतिबारे छलफल गर्न दलहरुलाई बोलाएको हो।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज (शुक्रबार) बिहान ११ः३० बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए।
Facebook Comments Box