काठमाडौं-उत्तर कोरियाले हालै मात्र नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको अमेरिकाले बताएको छ।
हालै मात्र उत्तर कोरियाले उक्त मिसाइल प्रक्षेपण गरेको र यसले गम्भीररुपमा तनाव बढाउन सक्ने अमेरिकाको दाबी छ।बिहीबार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले उत्तर कोरियाको दुई परीक्षणमा एउटा आईसीबीएम हुन सक्ने बताएका हुन्।
उत्तर कोरियाले फेब्रुअरी २६ र मार्च ४ मा जासुसी स्याटेलाइटका लागि रकेट प्रक्षेपण गरिएको बताएको थियो।यद्यपि अमेरिकाले यो प्रक्षेपण पूर्ण क्षमताको अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्नुपूर्वको तयारी मात्र रहेको बताएको हो। रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार उत्तर कोरियाले ५५ सय किलोमिटरको क्षमता भएको आईसीबीएम परीक्षण गरेको हो।
यो मिसाइलबाट उत्तर कोरियाले अमेरिकासम्म पनि मार हान्न सक्ने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ। अमेरिकाले उत्तर कोरियाले गरेको यो मिसाइल परीक्षणको निन्दा गरेको छ। जापान र दक्षिण कोरियाले पनि अमेरिकाले गरेको दाबी पुष्टि गर्दै उत्तर कोरियाको निन्दा गरेका छन्। एजेन्सी