काठमाडाैं – तेस्रो मुलुकबाट अत्यधिक आयात गरी भारततर्फ तस्करी हुने केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोगका लागि ल्याउन पाउने गरी सरकारले यी वस्तुको आयात खुला गरेको हो । बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो ।
औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ । सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो ।
पुनः २०७७ चैत ९ गते अर्को सूचना प्रकाशित गरेर केराउमा ८० हजार मेट्रिक टन, सुपारीमा २५ हजार मेट्रिक टन। छोकडा पाँच हजार मेट्रिक टन र नधुल्याएको मरीचमा १५ हजार मेट्रिक टनको परिमाणात्मक बन्देज लगाएको थियो । तर, यस्तो वस्तुको आयात खुलाउनु पर्ने भन्दै उद्योगी व्यवसायीले माग गर्दै आएका थिए ।
नेपाल आएका यस्ता बस्तु भारततर्फ नजाउन् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यविधि बनाएको छ । उक्त कार्यविधि लागू गरिए यस्ता बस्तु पुनः भारत जान रोकिने छन् । तर, उद्योग मन्त्रालयको तजबिजमा यस्ता वस्तुको आयात खुलाउँदा मान्त्रालयले तजबीजी अधिकारीको दुरुपयोग गर्ने, यस्ता वस्तुको आयात बढ्ने र विदेशी मुद्राको सञ्चिती र व्यापार घाटा अझ बढ्ने चिन्ता समेत जानकारहरूले व्यक्त गरिरहका छन् ।
अन्य देशबाट भारतमा सुपारी आयात गरे भन्सार दर शतप्रतिशत लाग्छ । तर दक्षिण एसियाली सहयोग संगठन (सार्क) का साथै छिमेकी राष्ट्रहरूसँगको सम्झौता तथा सहमतिअनुसार भारतले भन्सार महसुल पूरै छुट दिनुपर्छ । अर्थात् नेपालमा उत्पादित सुपारी शून्य भन्सारमा भारतमा निर्यात गर्न पाइन्छ । त्यही भएर व्यवसायीहरूले अवैध रूपमा निर्यात गर्ने गर्दछन् ।