काठमाडौं – पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा बम फेला परेको छ ।
बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि उनीहरुको वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए।
केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले करिब एक दर्जन थान सकेट बम भएको पुष्टि गरेको थियो ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको जानकारी दिए । ड्रमभित्र एकिन भन्न त सकिन्न तर ६/७ वटा सकेट बम रहेको अनुमान छ, बानियाँले भने बाहिर भुईँमा दुई वटा भेटिएको छ ।’
शुक्रबार विहान नेपाली सेना नर्सिङ्ग दल गुल्मको टोली डिस्पोज गर्न त्यस तर्फ हिँडेको उनले भने। उक्त बम जनयुद्धकालमा तत्कालीन माओवादीले लुकाई राखेको हुन सक्ने अनुमान गरिएको छ ।