काठमाडौँ – नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रूपमै काठमाडौँ ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव नेता सिंह ले दिएका छन् ।
मङ्गलवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनले मेलम्ची खानेपानी काठमाडौँका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौँमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताएका हुन् ।
उनले पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुसी व्यक्त गरे ।
काँग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेका थिए । अवलोकनपछि उनले त्यहाँका समस्याका बारेमा र काठमाडौँवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योल देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ ।