कैलाली- नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियान आइतबारदेखि सुरु गर्ने भएको छ। ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा हुने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कांग्रेसका केन्द्रीय नेताहरु जिल्ला पुगेका छन्।
केन्द्रीय प्रतिनिधिहरुलाई अभियानको उद्घाटन भन्दा २ दिनअघि नै सम्बन्धित जिल्लामा पुग्न कांग्रेसले निर्देशन दिएको थियो। सोही अनुसार प्रतिनिधिहरु खटाइएको जिल्लामा पुगेका छन्।
कांग्रेसको १ महिने अभियान अन्तर्गत मुख्यतः वडा र टोल केन्द्रीत कार्यक्रमहरु हुँदैछन्। अभियान अन्तर्गत टोल समितिहरुको गठन, प्रशिक्षण, नयाँ मतदातालाई तालिम, पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार तथा नेकपा नेतृत्वको अघिल्लो सरकारका कामहरुको भण्डाफोर गरिने कांग्रेसले जनाएको छ।
अभियानका लागि सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने,कैलालीमा गोविन्द बहादुर शाह, कञ्चनपुमा नैनसिंह महर,बैतडीमा यज्ञराज जोशी, बाजुरामा अर्जुन जंग बहादुर सिंह, बझागंमा रमेश लेखक,डोटीमा किरण गिरी, अछाममा सिता कुमारी राना प्रतिनिधिका रुपमा खटाइएका छन्।