काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् ।
उनी तारकेश्वर–३ स्थित पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी हुन् । पुतुवारको हत्या भएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । हत्या आरोपमा प्रहरीले तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको छ ।
हत्या गरेर नरेन्द्रले मृतकको साथमा रहेको सुन र नगद लुटेको अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले जानकारी दिए । मृतक वृद्धाले साथमा सँधै नगद राख्ने गरेको थाहा पाएर नरेन्द्रले ‘पारि गाउँमा राहत बाँड्न लागेको रहेछ, जाउँ’ भनेर उनलाई साथमा लिएर गए ।
बीच जंगलमा पुगेपछि ढुंगाले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपीलाई प्रहरी वृत बालाजुमा पठाएको छ ।