ललित सामन्त, दार्चुला –झण्डै दुई दशकअघिसम्म दार्चुलाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो। गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मिन्थे। यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ।
टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए। समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त। सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे।कहिले हुलाकी आउलान् र, समुद्रपारि रहेको छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको मालिकार्जुकी लक्ष्मी धामी बताउछन।
उनी भन्छन, ‘गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो, पक्कै पनि मेरै छोराको खबर बोकेर आए भनेर खुशीले मन गद्गद् हुन्थ्यो, चिठी हात परेपछि हतार हतार खोलेर गाउँमा पढे लेखेका छिमेकीलाई पढ्न पठाइन्थ्यो, छोराको सन्चो बिसन्चो खबर पाउँदा मन आनन्द हुन्थ्यो, काम गर्न जाँगर आउँथ्यो।’
अहिले जमाना फेरिँदै जादा देश प्रदेशमा रहेका छोराछोरी, आफन्त, मावली, साथीभाइको खबर सुन्न हुलाकी दाइ आउने बाटो पर्खेर बस्नुपर्ने परिस्थिति फेरिएको छ। मोबाइलमा आफूलाई मन लागेको समय भर्चुअल माध्यमबाट आमनेसाने कुरा गर्न पाउँदा आश्चर्य लाग्ने गरेको उनले बताए।
‘कति छिटो समय परिवर्तन भयो, घरघरमा इन्टरनेट आए, मोबाइल, कम्प्युटर, ल्यापटप प्रयोगकर्ता बढ्दै गए, हामीजस्ता निरक्षर उमेर ढल्केका पनि आधुनिक प्रविधितिर आकर्षित हुन थाल्यौँ, धेरै सुख सुविधाका दिन आएछन्’, उनले भने।मोबाइलमा फेसबुक खोलेर घरदेखि टाढा रहेकासँग भिडियो कल गरेर कुराकानी गर्दा उनीहरूसँगै बसेर गफ गरेजस्तो अनुभूति हुने गरेको शान्तिदेवी पन्त बताउछन।
‘आफन्तसँग गफ गर्न मन लागेपछि नातिनातीनाले फेसबुक खोलेर कुराकानी गर्ने वातावरण मिलाइदिन्छन्, घरमै बसीबसी फोटो हेर्दै कुराकानी गर्न पाउँदा जमानाले छिट्टै फड्को मारेछ भन्ने लाग्छ, फेसबुक म्यासेन्जरमा घण्टौँसम्म कुरा गरे पनि पैसा सकिने रहेनछ, पहिलाको हाम्रा दुःखका कहानी सुनाउँदा अबका सन्तति दङ्ग पर्छन्’, उनले भने।
क्षणभरमै खबर आदानप्रदान गर्न मिल्ने इमेल, इन्टरनेटको प्रयोग र विस्तारसँगै अब चिठी लेख्नलाई कापी र कलम खोजिराख्नु पर्दैन। नयाँ प्रविधिले भौगोलिक दूरी मेटिदिएको छ। फेसबुक, भाइबर लगायत सामाजिक सञ्जाल र मोबाइलबाट छिनछिनमा भर्चुअल भेटघाट, कुराकानी भइरहेको हुन्छ।
यिनै प्रविधिले हुलाकको महत्त्व विस्थापन गर्दैछ र हुलाक सेवा प्रयोग कम हुँदै गएको छ। हुलाकलाई समयानुकूल बनाउन सरोकार निकाय उदासीन बन्दा अहिले यसको काम सरकारी कागजात ओसारपसार गर्ने र केही कुरियर सेवा दिनमा सीमित छ।
सहरदेखि गाउँका कुनाकाप्चासम्म पुगेको टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता आधुनिक नयाँ सञ्चार प्रविधिका कारण हुलाक सेवा विस्तारै इतिहास बन्दै जाने खतरा सिर्जना भएको छ।हुलाक कार्यालयमा सञ्चालित आधुनिक सेवाको स्वरुप टेलिसेन्टरमा सर्वसाधारणलाई फोन, इमेल, इन्टरनेट, फोटोकपी, फ्याक्सजस्ता सुविधा पाइए पनि हातहातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले ती टेलिसेन्टरसम्म धाउन छाडिसकेका छन्।
प्राचीन समयमा एक स्थानका मानिसले अर्को स्थानका मानिससमक्ष चिट्ठीपत्रद्वारा खबर आदानप्रदान गराउने माध्यमका रुपमा हुलाकको जन्म भएको इतिहास पाइन्छ।यसपूर्व घोडा, परेवा, बाजलगायत पशुपक्षीद्वारा सन्देशमूलक चिट्ठीपत्र इच्छाइएका व्यक्तिसमक्ष पु¥याइने गरिन्थ्यो। आदिमकालीन सभ्यता, लिपि आदि हेर्दा प्राचीनकालमा एक स्थानबाट अर्को स्थानसम्म चिट्ठीपत्र, वस्तु र नगद पु¥याउने माध्यमका रूपमा हुलाकलाई प्रयोगमा ल्याइएको देखिन्छ।
दूरदराजसम्म पहुँच रहेको र नागरिकको सबैभन्दा लोकप्रिय सञ्चारको पुरानो माध्यम हुलाक कार्यालयका कर्मचारीलाई कार्यालयमा चिट्ठीपत्रको कामले भ्याईनभ्याई हुन्थ्यो। अहिले भनेसूचना प्रविधिको पहुँच गाउँगाउँमा पुगेपछि व्यक्तिगत प्रयोजनका चिट्ठीपत्र आदानप्रदान हटेको छ।
हिजोआज भने कार्यालयबाट धेरै टिकट बिक्री हुने गरेको कर्मचारी बताउँछन् । स्थानीय तहमा सरकारी कार्यालयको सेवा विस्तार हुँदै जाँदा टिकटको कारोबार बढेको हुलाक कार्यालय दार्चुलाले जनाएको छ। ‘व्यक्तिगत प्रयोजनका चिट्ठीपत्र अहिले कार्यालयमा आउँदैन, गाउँमा सरकारी कार्यालय विस्तार हुने क्रम बढेपछि टिकटको कारोबार धेरै हुन थालेको छ, दैनिकजसो कम्तीमा १५० सम्म टिकट जाने गरेको छ’, उनले भने। कार्यालयमा सेवाग्राहीको उपस्थिति कम हुँदै जाँदा कर्मचारीलाई पनि काममा व्यस्तता छैन।
अहिले हुलाकघर चिठ्ठीपत्रविहीन जस्तै छ ।इमेल, इन्टरनेटको सुविधा गाउँगाउँमा पुग्न थालेपछि देशविदेशमा रहेका आफन्त, साथीभाइलाई खबर सन्देश पठाउन चिट्ठीपत्र खसाल्न कार्यालयमा आउने सेवाग्राही घटेको पाइएको छ। सञ्चारका माध्यमद्वारा आपसी सद्भाव एवम् भाइचारा वृद्धि, आर्थिक एवम् सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका स्थपना भएका जिल्लाका संञ्चार माध्यमहरुले पनि ठुलो भुमिका खेलेको देखिएको छ।