राम धामी,डडेल्धुरा-नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेसभित्रको विवाद बढ्दै गएको छ।
स्थानीय निर्वाचनको पुर्व सन्ध्यामा पार्टी एकतावद्ध हुनेगरि नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन।
१४ औं राष्ट्रिय महाधिवेशन अघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताहरुले पार्टीलाई एकतावद्ध बनाउन दबाब दिँदै आएका छन।
सातौं जिल्ला अधिवेशनका क्रममा क्रियासिल सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियासिल सदस्यहरुको सदस्यता विना कारण नविकरण नगरिएको भन्दै तत्कालिन जिल्ला कार्यसमितिले क्रियासिल सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको सहयोगमा एकपक्षीय रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै नेपाली काँग्रेस डडेल्धुराको सभापति बनेका परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले पार्टी एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता ब्यक्त गर्दै आएको भए पनि हाल एकपक्षीय रुपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टी बढ्न थालेको हो।
नेपाली काँग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रुपमा चुनावती अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन।
शनिबार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले एकपक्षीय रुपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तिब्र असन्तुष्टी ब्यक्त गरेका छन्।
नगर प्रमुख तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति साँउदले सातौं जिल्ला अधिवेशनको प्रारम्भदेखिनै पार्टीको विधान विपरित कामगर्दै इमान्दार नेता कार्यकर्ताहरुलाई पेलेर एकपक्षीय रुपमा जिल्ला सभापति भएको र हाल जिल्लास्तरीय नेता कार्यकर्ताहरुको ठुलो हिस्सा असन्तुष्ट रहेको अबस्थामा एक पक्षीय रुपमा चुनावी अभियान घोषणा गरिएकाले अगामी चैत ५ गते वडास्तर र ८ गते पालिकास्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन्।
नेपाली काँग्रेस डडेल्धुराका पुर्व उपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकतावद्ध बनाउनका लागि नेतृत्वलाई दबाब दिने उदेश्यले संघर्ष समिति समेत गठन गरेको छ ।
पुर्व उपसभापति भट्टको संयोजकत्वमा गठित संघर्ष समितिका सदस्यहरुमा प्रतिनिधी सभामा समानुपातिक उम्मेदवार गोपा थापा, नेपाली काँग्रेस डडेल्धुराका पुर्व सदस्य तथा परशुराम नगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिँह ऐर, दानबहादुर साँउद र राजबहादुर भण्डारी सदस्य छन्।
संघर्ष समितिले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिनका लागि नेतृत्वलाई दबाब दिन संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक भट्टले बताए। उनले पार्टीभित्र इमान्दार नेता कार्यकर्ताहरुलाई पन्छ्याउन खोजिएकाले पार्टी एकतावद्ध नहुन्जेलसम्म बर्तमान जिल्ला कार्यसमतिले अघि सारेका हरेक कार्यक्रमहरु बहिष्कार गरिने जानकारी दिए।
नेपाली काँग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान एकपक्षीय रुपमा सञ्चालन गर्न थालेको छ। फागुन २९ गते देखि चैत २९ गते एक महिनासम्म देशव्यापी रुपमा यो अभियान सञ्चालन गर्न काँग्रेस केन्द्रिय समितिको निर्देशन छ।
डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तहमा चैत ८ गते एकै समयमा हुने चुनावी सभाका लागी प्रतिनिधिहरु तोकिएका छन। दुई वटा नगरपालिकामध्ये परशुराबम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागी वर्तमान जिल्ला सभापती एवं परशुराम नगरप्रमुख साउँद प्रतिनिधि तोकिएका छन।
यस्तै भागेश्वर गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्य समिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्य समिती उपसभापती डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्व सभापती रघुवर भट्ट प्रतिनिधि तोकिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ।
स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिती सदस्य तथा प्रदेशसभा क्षेत्रिय समितिबाट डडेल्धुराका ५२ वटै वडाहरुमा प्रतिनिधिहरु खटाईएको छ भने चैत ५ गते वडाहरुको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरु खटाईएको छ।
यसरी प्रतिनिधी खटाउँदा एक पक्षीय रुपमा खटाइएको भन्दै नेपाली काँग्रेस डडेल्धुराभित्र तिबै असन्तुष्टी बढे्को नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए।