काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले घेराबन्दी, धाँधली र बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे ।
एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मङ्गलवार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्यूह तोडेको बताए ।
‘धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौँ, ‘उनले भने, ‘राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गरे । उनले निर्वाचनमा निर्वाचनमा आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए । ‘जनताको सार्वभौमसत्ता, संविधान, कानुनी राज माथिको प्रहार हो । लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो ।’
उनले चुनावमा आफूहरूलाई धुलो चटाउँछौँ भन्नेहरूले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए ।केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको बताए ।
उनले अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले कम्युनिस्ट आन्दोलनलाई बहुमतमा पुर्याएको तर त्यसमा प्रहार गर्ने काम भएको उल्लेख गरे ।