काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीको तलब भत्ताको व्यवस्था नगर्ने भएको छ।स्वास्थ्य मन्त्रालयले आइतबार सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ताको व्यवस्था नहुने स्पष्ट पारेको छ।
अहिले कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ।
दोहोरो सहमति अनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश/स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्ता गर्ने गरेको र केही प्रदेश/स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई मन्त्रालयसँग थप तलब भत्ता समेत माग गर्ने गरेका छन्। तर, दरबन्दीभन्दा बढी कर्मचारी राखेमा त्यसको जिम्मेवार सम्बन्धित सरकार नै हुने मन्त्रालयले जनाएको छ।