काठमाडौं – आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ ।
निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गर्दा अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो । जस कारण देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।
बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था नभएको हो । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकार निवास छाडिने बताए ।
मर्मत कार्य सम्पन्न हुनका लागि ४ महिनाजति लाग्ने देखिएको भन्दै उनले सो अवधिमा देउवा भाडाको घरमा बस्ने जानकारी दिए ।