काठमाडौं-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार नेपाल आउँदैछन्। १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।
महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो। उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो। तलालपछि साउदी अरबमा भ्रष्टाचार प्रकरणमा जेल पनि परे। यद्यपि सन् २०१८ जनवरीमा उनी जेलमुक्त भए।
साउदी अरब र नेपालबीच एक दशकयता द्विपक्षीय भ्रमण निकै कम भएका छन्। खाडी मुलुक साउदीका तर्फबाट दोश्रोपटक राजकुमारको तहमा भ्रमण हुन लागेको हो।
सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए।