महेन्द्रनगर – लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ ।
पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहनुभएको छ । “धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी हुँदो रहेछ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा गाउँमै च्याउ उत्पादन गर्ने सानो उद्योग सञ्चालन गरेर आयआर्जनमा जुटेका छाँै ।”
सामान्य लेखपढ गरेकी रानाले एक दिने च्याउको बीउ उत्पादन गर्ने तालिम लिएर अहिले मेसिन चलाउन सक्ने भएको उहाँ बताउनुहुन्छ । राधिकाजस्तै पर्सियाका राना थारु समुदायका महिला दातृ तथा स्थानीय वडा कार्यालयको सहयोगमा च्याउको बीउ उत्पादनमा जुटेका छन् ।
त्यसैगरी लालझाडी–३ का महिला वडा सदस्य शान्ति रानाले च्याउ उत्पादन तथा वितरण महिला समूहको नेतृत्व गरिरहनुभएको छ । “कन्या जातको च्याउको बीउ उत्पादन गरेर बिक्रीका लागि धनगढी, गोदावरी र बेलौरीलगायतका बजारसम्म पुग्छ”, उहाँले भन्नुभयो, “गत वर्ष तीन क्विन्टल च्याउको बीउ बिक्री गरेका थियौँ ।” उहाँले अहिले भने नौ क्विन्टल बीउ तयार गरिएको जनाउँदै खपतको कुनै समस्या नरहेको बताउनुभयो ।
“च्याउको बीउ प्रतिप्याकेट रु ८० मा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “च्याउ उत्पादनमा गाउँबस्तीमा कृषक आकर्षित हुँदै गएका छन् ।” उहाँले चालु आर्थिक वर्षमा च्याउको बीउ उत्पादनमा वडा कार्यालयबाट पनि रु ५० हजार अनुदान प्राप्त भएको बताउनुभयो । “उत्पादन गरेको बीउ दुई महिनाभित्र खपत भएन भने खराब भइसक्छ”, रानाले भन्नुभयो, “बीउ बिक्रीबाट भएको मुनाफा उद्योगमै लगानी बढाउने काम भएको छ ।”
उहाँले घरको गृहिणी जीवन बिताइरहेका राना थारु महिला पछिल्लो समय च्याउ उत्पादनका साथै विभिन्न आयमूलक काममा लागि परेको जानकारी दिनुभयो । “यहाँ पालिकाले पनि हामीबाट पाँच क्विन्टल बीउ खरिद गरेर कृषकलाई वितरण गरेको थियो”, उहाँले भन्नुभयो, “अब च्याउ उत्पादनमा लागेका किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था रहेन ।”
त्यसैगरी स्थानीय रेखा रानाले च्याउको बीउ उत्पादन गर्ने मेसिनलगायत प्राविधिक सहयोग नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट प्राप्त भएको बताउनुभयो । “हाम्रो महिला समूहबाट रु ६५ हजार लगानी भए पनि राष्ट्रिय समाज कल्याण सङ्घबाट रु चार लाख ४० हजार मेसिन खरिदलगायतमा भयो”, रानाले भन्नुभयो, “महिलालाई आयमूलक काममा लगाउन दाताले गरेको सहयोगले हामीलाई पनि सहज भयो ।” उहाँले बीउ उत्पादनबाट भएको आम्दानी समूहमा बचतसमेत गर्ने गरेको बताउनुभयो ।
“च्याउको बीउ उत्पादनसँगै च्याउखेती गर्ने योजनामा पनि हामी छौँ”, उहाँले भन्नुभयो, “अब गृहिणी पनि आयमूलक काममा लागेर मुनाफा आर्जन गर्न सक्छन् भन्ने उदाहरण पनि हो ।” उहाँले पालिकासँगै दाताको सहयोगले पछिल्ला वर्षमा आफ्नो समुदायका कृषक नगदेबालीका रुपमा तरकारी खेती, च्याउखेती, कुखुरा तथा बङ्गुरपालनलगायतका काममा सक्रिय रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० का उत्पादन परियोजना संयोजक विनोदविक्रम जैरुले परियोजनाअन्तर्गत लालझाडीमा महिलालाई च्याउ उत्पादनमा सहयोग गरिएको बताउनुभयो । “परियोजनाअन्तर्गत च्याउको बीउ उत्पादन, खेतीदेखि माछापालनलगायतका आयमूलक काममा आर्थिक तथा प्राविधिक सहयोग गरिँदै आएको छ”, उहाँले भन्नुभयो, “महिलालाई आर्थिकरुपमा सबल बनाएर आत्ननिर्भर होउन भनेर पनि दाताको सहयोग रहँदै आएको छ ।”
उहाँले च्याउको बीउ उत्पादनमा पर्सियामा महिला समुहमाथि पहिलोपटक सहयोग गरिएको बताउनुभयो । “लगानीअनुसार बीउ उत्पादन सबल हुँदै गएको छ”, उहाँले भन्नुभयो, “मागअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन ।”