नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने श्रेष्ठले आफू निकट नेताहरूसँग गुनासो गर्ने गरेका छन् । अर्थमन्त्री पौडेलभन्दा आफू वरियतामा अघि हुनुपर्ने श्रेष्ठको भनाई छ । यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि माओवादी नेता वर्षमान पुन असन्तुष्ट छन् ।
उपप्रधानसहित गृहमन्त्री लिएर लामिछाने वरियतामा अघि भएपछि पुन चिढिएका हुन् । सरकारमा जाने सम्भावना भएपनि वरियताकै कारण पुनले मन्त्री नहुने निकटस्थहरुसँग बताउने गरेका छन् । यद्यपि पुनले सरकारमा जाने/नजाने विषयमा कुनै स्पष्ट खुलाएका छैनन् । यस्तै पार्टीका अर्का प्रभावशाली नेता जनार्दन शर्मा मन्त्री हुने चक्करमा छैनन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री भई भर्खरै विदा भएकाले उनले आफू पार्टीको संगठनमा लाग्ने बताउने गरेका छन् ।