धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशलाई सुन्दर र सम्पन्न बनाउन राइजिङ सुदूरपश्चिम बनाउन सङ्कल्प लिनुपर्नेमा जोड दिएका छन् ।
सभाको जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरूले सो प्रदेशको लागि सङ्कल्प र प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टले प्रदेशको समग्र विकासको लागि सबै प्रदेशसभाहरू एक ढिक्का भएर बढ्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले प्रदेशलाई राइजिङ प्रदेशको रूपमा विकास गर्न सङ्कल्प लिनुपर्ने बताए । उनले भने, ‘राइजिङ सुदूरपश्चिम बनाउने अभिभारा हाम्रो हो । राष्ट्रकै गौरवशाली प्रदेश तथा एक नम्बरको प्रदेश बनाउने जिम्मेवारी हाम्रो हो । अबको पाँच वर्ष जनताको गाली सुन्न नपाउने गरी काम गर्नुपर्ने छ । त्यसको लागि सदनले भूमिका खेल्नुपर्दछ ।’
नेकपा एमालेका संसदीय दलको नेता राजेन्द्रसिंह रावलले पनि प्रदेशको विकासको लागि सबैले प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘प्रदेशको विकासको लागि दीर्घकालीन योजना जानुपर्ने आवश्यक छ । विकासका प्राथमिकताहरू निर्धारण गर्न जरुरी छ । जनताका सहमतिमा आउनुस् हामी आज प्रण गरौँ, हामी जनताको सेवक र नोकर बन्न तयार हौ । नयाँ सुदूरपश्चिम बनाउन सम्भव छ । विकासमा जनसहभागिता बढाऔँ ।’
बैठकमा नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी, एकीकृत समाजवादीका संसदीय दलको नेता दीर्घ बहादुर सोडारीलगायतले बैठकलाई सम्बोधन गरेका थिए । बैठकमा बोल्ने क्रम जारी रहेको छ । अन्तिम वक्ताका रूपमा रहेका स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीको नाम पनि थप्न अनुरोध छ ।