काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको जानकारी बेगर कुनै पनि विदेशी र कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट नगर्ने सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
दुई दिनसम्म चलेको सचिव बैठकमा मङ्गलवार निर्देशन दिँदै प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र यस्ता भेटघाट गर्ने पाउने उल्लेख गरे ।
उनले भेटघाटसँग सम्बन्धित कूटनीतिक आचारसंहिता समेत बनाउन निर्देशन दिएका छन् ।
‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धी आचारसंहिता तयार गर्नुहोला’ प्रधानमन्त्री दाहालले लिखित निर्देशन दिँदै भनेका छन् । उनले मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा केन्द्रित रहेर आर्थिक कूटनीति अवलम्बन गर्ने निर्देशन दिएका छन् ।
‘सरकारले छिमेकी लगायत सबै मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्ने छ। हाम्रो सम्बन्ध सबैसँग मित्रता नै हो कसैसँग शत्रुता छैन। यही नीति अनुसरण र अवलम्बन गर्दै आर्थिक कूटनीति र अन्तराष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस्’ प्रधानमन्त्री दाहालले भने ।